Logo

सोमवार, कार्तिक १७ गते २०८३

images

घरदेखि समाजसम्मः हेरचाह कामको मूल्यांकन र नीतिगत चुनौती

घरदेखि समाजसम्मः हेरचाह कामको मूल्यांकन र नीतिगत चुनौती

बुधवार, माघ १ २०८२
बुधवार, माघ १ २०८२
  • सुरक्षा बराल
    बिहान सबेरै उठेर धेरैजसो महिला पारिवारिक जिम्मेवारीमै खटिन्छन् । चिया,खाजादेखि भान्सा र बच्चाबच्चीको स्कूलसम्मको अधिकांश जिम्मेवारी उनीहरुकै पर्छ । यी सबै काम सकिएपछि मात्र उनको दिन सुरु हुन्छ । तर दिनभर गरिएका यस्ता अनगिन्ती कामको न त तलब हुन्छ, न त औपचारिक मान्यता । यही हो हेरचाह कामको वास्तविक चित्र ।
    सहरका कामकाजी दम्पतीको उदाहरण पनि लिन सकिन्छ । बिहान अफिस जान हतारिएका अभिभावक आफ्नो बच्चालाई डे–केयर सेन्टरमा छाड्छन् । त्यहाँ काम गर्ने हेरचाहकर्मीले बच्चालाई स्याहार, सुरक्षा र माया दिन्छिन् । उनको कामका लागि  तलब दिइन्छ । तर घरभित्र आमाले गर्ने यही काम अझै पनि ‘कर्तव्य’ भनेर मात्र हेरिन्छ यहाँ उसको पारिश्रमिक र कामको पारिवारिका स्वामित्व लिने कुरा गर्न खोजिएको हो । 
    यी उदाहरणले स्पष्ट देखाउँछ—हेरचाह काम बिना कुनै पनि घरपरिवार, समुदाय र समाज चल्न सक्दैन। खाना पकाउने, सरसफाइ गर्ने, बालबालिका, बिरामी, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती तथा सुत्केरीको हेरचाह गर्ने जस्ता कामहरू जीवनका आधारस्तम्भ हुन । तर यिनको सामाजिक र आर्थिक महत्व हुँदाहुँदै पनि हेरचाह कामलाई औपचारिक अर्थतन्त्रको केन्द्रमा राखेर मूल्याङ्कन गरिएको छैन। विशेषगरी महिलाले गर्ने अवैतनिक हेरचाह काम आज पनि अदृश्य श्रमकै रूपमा सीमित छ ।

    हेरचाह कामको अवधारणा र प्रकार

    हेरचाह काम भन्नाले मानिसको जीवन सञ्चालनका लागि आवश्यक स्याहार, सेवा र सहयोगसँग सम्बन्धित सबै कार्यहरू बुझिन्छ । यसलाई मुख्यतः दुई प्रकारमा वर्र्गीकरण गर्न सकिन्छ ।
    अवैतनिक हेरचाह काम
    परिवारभित्र गरिने, प्रत्यक्ष पारिश्रमिक नपाइने काम हो । यसमा खाना पकाउने, कपडा धुने, घर सफा गर्ने, बालबालिका तथा वृद्धको हेरचाह, बिरामीलाई अस्पताल लैजाने, गृहकार्यमा सहयोग गर्ने जस्ता कामहरू पर्दछन । जस्तैः गाउँकी एक आमा दिनभर खेतबारी, पशुपालन र घरायसी कामसँगै बालबालिका र वृद्ध आमाबुबाको स्याहार गर्छिन । यी सबै कामको तलब नदेखिए पनि यसले परिवार र समाजलाई चलायमान बनाइरहेको हुन्छ ।
    पारिश्रमिक सहितको हेरचाह काम
    घरबाहिर गरिने र तलब पाइने सेवामूलक कामहरू हुन । घरेलु श्रमिक, हेरचाहकर्मी, नर्स, स्वास्थ्यकर्मी, प्रि–स्कुल शिक्षक, सरसफाइकर्मी आदि यसमा पर्छन । उदाहरणः सहरमा कामकाजी अभिभावकले बच्चाको हेरचाहका लागि बेबीसिटर राख्छन । यस्ता काम धेरैजसो अनौपचारिक क्षेत्रमै सीमित छन ।

    महिलाको योगदान र असमान बोझ
    नेपालमा अवैतनिक हेरचाह कामको ठूलो हिस्सा महिलाले वहन गरिरहेका छन । महिलाले पुरुषको तुलनामा धेरै गुणा बढी समय घरायसी सेवा अझ भनौं घरायसी काममा खर्च गर्छन । जस्तैः एक शिक्षित महिला रोजगारी गर्न इच्छुक भए पनि घरमा साना बालबालिका र बिरामी वृद्धको हेरचाह गर्ने विकल्प नहुँदा घरमै सीमित हुन बाध्य हुन्छिन । यसैबीच पुरुष सदस्य भने सहज रूपमा बाहिर काममा जान सक्छन ।
    अवैतनिक हेरचाह कामका कारण महिलाको शिक्षा, रोजगारी, आय आर्जन र सार्वजनिक सहभागितामा असर पर्छ । यसको सामाजिक परिणाम पनि गहिरो हुन्छ—जसले महिलाको आर्थिक स्वतन्त्रता र निर्णय क्षमतामा कमी आउँछ ।

    दोहोरो जिम्मेवारी र सशक्तिकरणको चुनौती
    घरबाहिर रोजगारीमा रहेका महिलाले घरभित्रको सम्पूर्ण हेरचाह काम सम्हाल्नुपर्दा दोहोरो बोझ बेहोर्नुपर्छ । यसले महिलाको स्वास्थ्य, आत्मविश्वास र नेतृत्व क्षमतामा नकारात्मक प्रभाव पार्छ । जस्तैः स्थानीय तहकी महिला जनप्रतिनिधि दिनभर कार्यालयको काम सकेर घर फर्किँदा पनि घरायसी कामबाट मुक्त हुन सक्दिनन । यदि हेरचाह कामको बाँडफाँड हुने हो भने उनी सार्वजनिक भूमिकामा अझ प्रभावकारी हुन सक्थिन ।

    हेरचाह काम र वैदेशिक रोजगारी
    वैदेशिक रोजगारीमा जाने धेरै नेपाली महिलाहरू घरेलु श्रमिक वा हेरचाहकर्मीका रूपमा काम गर्छन । प्रमुख गन्तव्यहरू जस्तै इजरायल, मध्यपूर्व र मलेसिया।
    उदाहरणः इजरायलमा ज्येष्ठ नागरिकको हेरचाह गर्ने महिलाले तुलनात्मक रूपमा राम्रो आम्दानी गर्छन तर केही देशमा घरेलु श्रमिकका रूपमा गएका महिलाले शोषण, हिंसा र कानुनी असुरक्षाको सामना गर्नुपरेको यथार्थ पनि हामी सँग छ । वैदेशिक रोजगारीले महिलालाई आर्थिक रूपमा सशक्त बनाउन सक्दछ । तर सामाजिक र कानुनी सुरक्षा सुनिश्चित नगरेको खण्डमा यसले जोखिम पनि ल्याउँछ ।

    सेवा अर्थतन्त्रमा हेरचाह काम
    आज हेरचाह काम सेवा अर्थतन्त्रको महत्वपूर्ण अङ्ग बन्दै गएको छ । डे–केयर सेन्टर, ज्येष्ठ नागरिक हेरचाह केन्द्र, घरेलु सेवा प्रदायक संस्था विस्तार भइरहेका छन् ।
    उदाहरणः सहरमा सञ्चालन भएका डे–केयरहरूले कामकाजी अभिभावकलाई राहत दिँदै महिलाको रोजगारी सहभागिता बढाउन सहयोग गरेका छन ।

    पुरुषको भूमिका
    हेरचाह काम महिलाको मात्र जिम्मेवारी होइन । पुरुषको सक्रिय सहभागिताले परिवारमा समानता र आपसी सम्मान बढाउँछ । जस्तैः श्रीमान–श्रीमतीले पालैपालो खाना बनाउने र बच्चाको हेरचाह गर्ने अभ्यासले स्वस्थ पारिवारिक संस्कार विकास गर्छ ।

    नीतिगत सुझाव
    १) हेरचाह कामलाई राष्ट्रिय गणनामा समावेश गर्ने
    नेपालमा धेरै महिलाले गरिरहेका अवैतनिक हेरचाह काम आर्थिक तथ्याङ्कमा समावेश हुँदैनन् । यसको परिणामस्वरूप नीतिनिर्माण र बजेट योजनामा यसको महत्व कमजोर देखिन्छ । हेरचाह कामलाई राष्ट्रीय तथ्याङ्क र आर्थिक गणनामा समावेश गर्नु भनेको, यसका वास्तविक मूल्यलाई पहिचान गर्नु हो । यसले सरकारलाई महिलाको श्रम योगदान, परिवार र समाजमा हेरचाहको भूमिका र आवश्यकता अनुसार बजेट र योजना निर्माण गर्न सक्षम बनाउँछ ।
    २)  घरेलु र सेवामूलक हेरचाह काममा तलब, बिमा र सामाजिक सुरक्षा सुनिश्चित गर्ने
    घरेलु तथा सेवा क्षेत्रमा हेरचाह काम गर्नेहरू प्रायः अनौपचारिक क्षेत्रमा कार्यरत हुन्छन् । यसले गर्दा उनीहरू शोषण, अनिश्चित आय र सामाजिक सुरक्षा अभावमा रहन्छन् । तलब, स्वास्थ्य बिमा, सामाजिक सुरक्षा र पेंशनको सुनिश्चितता गर्नु भनेको कामदारको जीवनस्तर सुधार, काममा स्थायित्व र न्याय सुनिश्चित गर्नु हो। यसले महिलाहरूलाई रोजगारमा आकर्षित गर्ने मात्र होइन, समाजमा समानता र दिगो विकासमा योगदान पु¥याउँछ ।
    ३) प्रविधि र पूर्वाधार विकासमार्फत घरायसी बोझ कम गर्ने
    धेरै हेरचाह काम परम्परागत तरिकाले, धेरै श्रम र समय खर्च गरेर गरिन्छ । यसलाई प्रविधि र पूर्वाधार ९जस्तै, आधुनिक भान्सा उपकरण, डे–केयर सुविधा, स्वास्थ्य सेवा पहुँच, सफाइ उपकरण० मार्फत सजिलो र कम श्रमसाध्य बनाउन सकिन्छ । यसले महिलालाई व्यक्तिगत विकास, रोजगार र सामाजिक सहभागिताको अवसर दिन्छ र दोहोरो जिम्मेवारी कम गर्दछ ।
    ४)  पुरुषको सहभागिता बढाउने अभियान सञ्चालन गर्ने
    अहिलेसम्म हेरचाह कामलाई प्रायः महिलाको जिम्मेवारी मानिन्छ । यसले सामाजिक असमानता मात्र बढाउँदैन, महिलाको स्वास्थ्य, समय र आत्मसम्मानमा पनि असर पार्छ। पुरुषको सहभागिता बढाउने जनचेतना अभियान, तालिम र सामाजिक कार्यक्रमले घरमा समान जिम्मेवारी बाडफाँट गर्न प्रेरित गर्छ । 
    उदाहरणका रूपमा, परिवारमा श्रीमान–श्रीमतीले पालैपालो खाना पकाउने, बच्चाको हेरचाह गर्ने अभ्यासले समाजमा लैङ्गिक समानता र परिवारिक सहयोगको संस्कार स्थापना गर्दछ ।

    निष्कर्ष
    हेरचाह काम समाज र अर्थतन्त्रको आधारस्तम्भ हो । खाना पकाउने, सफा गर्ने, बालबालिका र ज्येष्ठ नागरिकको हेरचाह गर्ने जस्ता कामहरू बिना परिवारको दैनिकी मात्र होइन, समाजकै कामकाज ठप्प हुन सक्छ । यस्ता कामले नीतिगत, आर्थिक र सामाजिक संरचनालाई समर्थन गर्छ, तर दुर्भाग्यवश यसको महत्व अझै पर्याप्त रूपमा मान्यता प्राप्त छैन। धेरैजसो महिलाले घरभित्र गरिरहेको अवैतनिक श्रम समाजले ‘कर्तव्य’ वा सामान्य जिम्मेवारीको रूपमा हेर्छ, जसको कुनै वित्तीय मूल्याङ्कन हुँदैन र जसले गर्दा उनीहरूको योगदान अदृश्य रहन्छ । घरभित्र र घरबाहिर गरिने हेरचाह कामलाई औपचारिक मान्यता दिनु अति आवश्यक छ । यसको मतलब, नीतिहरूमा यसलाई समावेश गरी बजेट र सामाजिक सुरक्षाको व्यवस्थामा स्थान दिने, हेरचाह काम गर्नेलाई तलब, स्वास्थ्य बिमा र सेवा सुविधा उपलब्ध गराउने हो। यसले केवल महिला कामदारको आर्थिक र सामाजिक सशक्तिकरण मात्र होइन, परिवार र समाजमा लैङ्गिक समानता पनि सुनिश्चित गर्छ ।

    अवैतनिक श्रमको उचित मूल्याङ्कन नगर्दा महिलाले दोहोरो बोझ बेहोर्न बाध्य हुन्छिन—घरभित्रको हेरचाह र घरबाहिरको पेशागत जिम्मेवारी दुवै । यसले उनीहरूको व्यक्तिगत विकास, शिक्षा, स्वास्थ्य र सार्वजनिक सहभागितामा नकारात्मक प्रभाव पार्छ । तसर्थ, हेरचाह कामको सम्मान, मूल्याङ्कन र जिम्मेवारीको बाँडफाँड नगरेसम्म दिगो विकास र समतामूलक समाजको लक्ष्य हासिल गर्न असम्भव छ ।
    सारांशमा, हेरचाह कामलाई आर्थिक, सामाजिक र नीतिगत दृष्टिले महत्व दिँदा मात्र समाजको आधारभूत संरचना मजबुत हुन्छ र महिला–पुरुषबीचको समानता स्थापित गर्न सकिन्छ । यसले दीर्घकालीन दिगो विकास, सामाजिक न्याय र पारिवारिक सन्तुलन सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेल्दछ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    Copyright © All right reserved to digdarshan.com Site By: SobizTrend