काठमाडौं । एनपीएलमा दूरपश्चिम रोयल्सले लगतार दोस्रो जीत हात पारेको छ । उसले काठमाडौं गुर्खाजलाई ७३ रनले पराजित गरेको हो ।
त्रिवि क्रिकेट मैदानमा विहीबारको खेलमा सुदूरपश्चिमले दिएको १६८ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौंले १५ दशमलब ५ ओभरमा अलआउट हुँदै ९४ रनमात्रै बनाउन सक्यो । सुदूरपश्चिमले यसअघि पहिलो खेलमा विराटनगर किंग्सविरुद्ध ९० रनको जित निकालेको थियो ।
काठमाडौंका स्टेफन एस्किनाजीले सर्वाधिक ३७ रन बनाए । उनले ३३ बलमा पाँच चौका र एक छक्का प्रहार गरे । सुमित महर्जनले १० बलमा दुई चौकासहित १४ रन जोडे । भीम सार्की र गेरहार्ड इरास्मसले समान १० रन थपे ।
यसबाहेक, काठमाडौंका अन्य ब्याटर दोहोरो अंकको रनसम्म पुग्न सकेनन् ।
काठमाडौंलाई सस्तैमा समेट्न सुदूरपश्चिमका नरेन साउदले पाँच विकेट लिए । ३.५ ओभर बलिङ गरेका नरेनले १९ रनमात्र खर्चिए । उनले काठमाडौंका गेरहार्ड इरास्मस, एस्किनाजी, राशिद खान, करण केसी र साहब आलम आउट गरे ।
अभिनाश बोहराले दुई विकेट लिए । तीन ओभर बलिङ गरेका अभिनाशले एक मेडन फ्याक्दै १२ रनमात्र खर्चिए । ब्रान्डन म्याकमुलम र सैफ जैबले समान एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६७ रनको योगफल खडा गरेको थियो ।
सुदूरपश्चिमका ब्रान्डन म्याकमुलमले ५३ रन बनाए । उनले ३६ बलमा तीन चौका र चार छक्का प्रहार गरे । म्याकमुलमलाई १२औँ ओभरको अन्तिम बलमा गेरहार्ड इरास्मसले साहब आलमबाट क्याच गराएका थिए ।
ओपनर विनोद भण्डारीले २८ बलमा दुई चौका र दुई छक्कासहित ३५ रन थपे । १७–१ को स्थितीबाट विनोद र म्याकमुलमले ११४ रनको शतकीय साझेदारी गर्दै सुदूरपश्चिमलाई १०३–२ को बलियो स्थितीसम्म पूर्याएका थिए ।
विनोदलाई साहबले १३औँ ओभरको पहिलो बलमा एलबीडब्लूको धरापमा पारेका थिए ।
कप्तान दीपेन्द्रसिंह ऐरीले ४३ रन बनाए ।
