नेपाल एसीसी पुरुष यु-१६ इस्ट जोन क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
समूह चरणको अन्तिम खेलमा मंगलबार भुटानमाथि २९८ रनको फराकिलो जित निकाल्दै नेपाल समूह विजेताका रूपमा सेमिफाइनलमा प्रवेश गरेको हो । रौनक श्रीवास्तवको विस्फोटक शतक र कप्तान विपिनप्रसाद शर्माले उत्कृष्ट बलिङ गरेपछि नेपालले भुटानमाथि फराकिलो जित निकालेको हो ।
नेपालले दिएको ३५९ रनको लक्ष्य पछ्याएको भुटान ३२.४ ओभरमा ६० रनमै समेटियो । भुटानका लागि सेजाङ दावाले सर्वाधिक १४ रन बनाए । नेपालका कप्तान विपिनप्रसाद शर्माले १० ओभरमा ६ मेडन राख्दै मात्र ७ रन खर्चेर ४ विकेट लिए । यस्तै, सचिन भट्टले ८ ओभरमा ५ मेडनसहित १५ रन दिएर २ विकेट हात पारे । सुयोग भट्टराईले पनि २ विकेट लिए । नवौँ विकेट पतनलगत्तै वर्षा सुरु भएपछि खेल सकिएको घोषणा गरिएको थियो ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ५ विकेट गुमाएर ३५८ रनको विशाल योगफल खडा गरेको थियो । प्रतियोगिताको नेपालको दोस्रो ठूलो स्कोर हो । रौनकले १३२ बलमा १६ चौका र ५ छक्कासहित १६८ रनको अविजित पारी खेले, जुन नेपाली खेलाडीले कुनै पनि प्रतियोगितामा बनाएको सर्वाधिक व्यक्तिगत स्कोर हो । यस्तै, जोय थापाले ६१ रनमा अविजित रहँदा शिवांश बजगाईंले ५४ रन जोडे । यसैगरी, सुगम बुढाथोकीले ३५ रन जोडे ।
नेपालको सुरुवात भने कमजोर थियो । १७ रनमा दुई विकेट गुमाएपछि रौनक र शिवांशले ९१ रनको साझेदारी गर्दै इनिङ्स सम्हाले । त्यसपछि रौनकले सुगमसँग ७२ रन र जोयसँग १७० रनको महत्त्वपूर्ण साझेदारी गरेका थिए ।
